निर्वाचन सुरक्षाः आजदेखि नेपाली सेना परिचालन
काठमाडौँ, २१ माघ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन गरिएको छ। निर्वाचन पूर्वको एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना आजबाट देशभर फिल्डमा खटिएको हो।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजदेखि देशभर ७९ हजार ७२७ जना सेना परिचालन गरिएको छ।
संवेदनशील क्षेत्र तथा मतदानस्थलको अवस्थाका आधारमा सेनाले आवश्यकतानुसार गस्ती गर्ने र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त गस्तीसमेत गरिने उहाँले बताउनुभयो। निर्वाचन सुरक्षामा नेपाली सेना तेस्रो घेरामा रही जिम्मेवारी निर्वाह गर्नेछ।
मन्त्रिपरिषद्को सिफारिसमा गत ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनका लागि स्वीकृति दिनुभएको थियो। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोहीअनुसार तालिम तथा अभ्यास सम्पन्न गरेको जनाएको छ।
९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन बुझाएको थियो, जसलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो।
नेपाली सेनाले निर्वाचन अवधिभर हवाई गस्तीसमेत गर्ने जनाएको छ। त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौँ, विराटनगर र इटहरीमा हेलिकप्टर ‘स्टान्डबाइ’ अवस्थामा राखिएको छ। विकट तथा अतिसंवेदनशील क्षेत्रमा हवाई गस्तीका साथै निर्वाचन अवधिमा र निर्वाचनपश्चात मतपेटिका ढुवानीका लागि पनि हेलिकप्टर प्रयोग गरिने सहायक रथी बस्नेतले जानकारी दिनुभयो।
सडक सञ्जाल नपुगेका स्थानमा मतपेटिका तथा मतपत्र ढुवानी र गणनास्थलसम्म पुर्याउने कार्यसमेत सेनाले हवाई माध्यमबाट गर्नेछ। निर्वाचन भाँड्न खोज्ने समूहबाट बमलगायत विस्फोटक पदार्थ प्रयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बम डिस्पोजल टोली पनि तैनाथ गरिएको सेनाले जनाएको छ। ती टोलीलाई अतिसंवेदनशील मतदानस्थलमा ‘अलर्ट’ अवस्थामा राखिएको छ।
यसैबीच, निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान, कारागार तथा विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थल, कारागार कार्यालय, सिंहदरबारलगायतका महत्वपूर्ण स्थान तथा प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्ने जनाएको छ। यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो।

