काठमाडौँ सुनसान, गाउँमा दसैँको चहलपहल
काठमाडौँ, १५ असोज – दशैंको आगमनसँगै राजधानी काठमाडौँका सडकहरू सुनसान भएका छन्। उपत्यकाबाट आआफ्नो जन्मस्थान फर्किन सुरु गरेका नागरिकका कारण दैनिक सवारी चाप करिब ४०–५० प्रतिशतले घटेको छ।
सार्वजनिक सवारीमा यात्रुको भीड पनि कम भएको छ। रोजगारी, अध्ययन, व्यापार र अन्य कारणले राजधानीमा बस्नेहरू दशैंको अवसरमा गाउँ फर्किएका हुन्। लामो समयपछि परिवारसँगको पुनर्मिलन, गाउँको माटोको सुवास र चाडपर्वको स्वादले मानिसहरूलाई गाउँतर्फ तानेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार, “सडक विगतमा भन्दा खाली छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले सतर्कता कायम छ।” गाउँघरमा भने दसैँको वातावरण उल्लासमय भएको छ।
घरआँगनमा टिका, जमरा छर्ने तयारी भईरहेको छ र सामाजिक सञ्जालमा चाडको रमाइलो दृश्यहरू प्रशस्त देखिन थालेका छन्। परदेशी मन फर्किएका कारण वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी र नातागोता बीच भावनात्मक पुनर्मिलन भइरहेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनमा मात्रै ५ लाख ५३ हजार २६१ जनाले काठमाडौँ छाडेका छन्।

