मनसुनी गतिविधि थप सक्रिय हुने, विभागको सतर्कता अनुरोध
काठमाडौँ, १५ असोज — जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
मंगलबार राति जारी गरिएको दोस्रो दसैँ विशेष मौसम बुलेटिनमा विभागले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारत हुँदै नेपालमा प्रवेश गर्ने भएकाले आगामी दिनमा धेरै ठाउँमा वर्षा हुने जानकारी दिएको हो।
मौसमविद् विनु महर्जनका अनुसार असोज १७ (एकादशी) देखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि विशेष सक्रिय हुनेछन्। सो दिन यी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज १८ र १९ गते पनि देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र कतिपय क्षेत्रमा अतिभारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ।
दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने देखिएकाले बाढी, पहिरो, भू–क्षयका जोखिम बढ्ने, साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। विभागले मौसमको अद्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

