काम नगरी अलपत्र परेका सडक–पुलका २३४ ठेक्का तोडिने

काठमाडौँ, ११ असोज – वर्षौँसम्म निर्माण कार्य अघि नबढाएका २३४ सडक र पुलका ठेक्का तोडिने भएका छन्। सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्ने तयारी गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक, सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख र आयोजना प्रमुखहरूसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताएका छन्।

दमकमा ३८, काठमाडौँमा ७५, पोखरामा ३९, सुर्खेतमा ४९, हुलाकी राजमार्गमा १६ र मध्यपहाडी लोकमार्गका १७ ठेक्का रुग्ण अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

ठेक्का सम्झौता गरी लामो समयसम्म काम नगर्ने र परिचालन पेश्की लिएर रकम अन्यत्र लगानी गर्ने प्रवृत्ति रोक्न ठेक्का तोडिने र संलग्न पूर्व–वर्तमान कर्मचारीको छानबिन गर्न समिति गठन गरिने मन्त्री घिसिङको भनाइ छ।

मन्त्रालयले रु दुई करोडभन्दा बढीका सम्झौता भई निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी म्याद थपिसक्दा ५० प्रतिशतभन्दा कम प्रगति भएका, २०० प्रतिशतभन्दा बढी म्याद थपेर पनि ८० प्रतिशतभन्दा कम प्रगति भएका, र ४०० प्रतिशतभन्दा बढी म्याद थपेर पनि ९५ प्रतिशतभन्दा कम प्रगति भएका ठेक्कालाई रुग्ण ठेक्का मानेको छ।

मन्त्री घिसिङले ढिलासुस्ती, घुसखोरी र सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति देखिए तत्काल कारबाही हुने चेतावनीसमेत दिएका छन्। आफ्नो नाम प्रयोग गरेर अनावश्यक दबाब दिनेहरूलाई उजागर गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

Facebook Comments Box