मनोरञ्जनको नाममा जुवातास नखेल्न प्रशासनको आग्रह

खोटाङ, १२ असोज – चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा कालोबजारी, मूल्यवृद्धि, म्याद गुज्रिएका सामान बिक्री, सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेजस्ता कार्य नगर्न/नगराउन भनिएको छ।

यात्रा गर्दा समस्या परेमा यात्रु सहायताकक्ष वा नजिकैको प्रहरी एकाइ तथा ९८५२८४९३२२ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। त्यस्तै, सन्देहास्पद गतिविधि देखिएमा १०० वा सोही नम्बरमा खबर गर्न पनि आग्रह गरिएको छ।

यद्यपि, यात्रुहरूले ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारीसाधनले बढी भाडा असुल्ने गुनासो गरेका छन्। टिकटमा सहमतिअनुसार भाडा उल्लेख भए पनि व्यवहारमा बढी लिइएको यात्रुहरूको भनाइ छ।

खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले यात्रुले प्रमाण उपलब्ध गराए व्यवसायीलाई आफैं कारबाही गर्ने चेतावनी दिनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लामा करिब तीन हजार सवारीसाधन सञ्चालनमा छन्। तर, अधिकांश ग्रामीण सवारीसाधन बिना रुट परमिट सञ्चालन भइरहेको पाइएको छ।

Facebook Comments Box