आज काठमाडौंसहित देशका विभिन्न स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना
काठमाडौं, २८ पुस – नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ भने यतिबेला प्रदेश १ र प्रदेश २ लगायत पहाडी भेगमा सामान्य बदली र बाँकी स्थानमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ जनाएकाे छ । साथै दिउँसो प्रदेश १, २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

