सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती
कञ्चनपुर, १० असोज – सुदूरपश्चिममा रेबिज रोगको सङ्क्रमण तीव्र गतिमा बढिरहेको तथ्याङ्कले देखाएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको हो।
सबैभन्दा बढी सङ्क्रमण कैलालीमा देखिएको छ। त्यहाँ सङ्कलित ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ। त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीमा आठमध्ये छ र बझाङका तीन नमूनामध्ये पनि पोजेटिभ परिणाम आएको छ।
वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार, रेबिज फैलाउनमा मुख्य स्रोत कुकुर नै रहेको छ। परीक्षण गरिएका ८७ कुकुर नमूनामध्ये ७२ मा सङ्क्रमण भेटिएको छ। त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बङ्गुरका सातमध्ये पाँच र खरायोको एउटा नमूनामा समेत पोजेटिभ देखिएको छ।
प्रयोगशालाले आव २०७६/७७ बाट रेबिज रोग अन्वेषण तथा सर्भेइलान्स कार्य सुरु गरेको हो। प्रारम्भिक वर्षमा दुई नमूनामात्र पोजेटिभ पाइएकामा २०७९/८० मा ३९, २०८०/८१ मा एक सय ५७ र चालु आवमा १३६ नमूना पोजेटिभ देखिनु सङ्क्रमण वृद्धिको स्पष्ट संकेत भएको चिकित्सकको भनाइ छ।
“रेबिज पशुबाट मानिसमा सर्ने रोगका रूपमा रहेको छ,” चिकित्सक जोशीले भन्नुभयो, “यो रोग जङ्गली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुर, बिरालोलगायतमा सर्छ, जसले फेरि मानिसलाई टोकेर सङ्क्रमण फैलाउने गर्छ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हरेक वर्ष विश्वभर करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ। तीमध्ये ९५ प्रतिशत मृत्यु अफ्रिकी र एसियाली मुलुकमा हुने गरेका छन्। सङ्गठनले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजजन्य मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा मात्र हरेक वर्ष एक लाखभन्दा बढी मानिस जनावरले टोकेका घटना हुने गरेका छन् भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। डब्ल्यूएचओको अध्ययनअनुसार नेपालमा करिब २९ लाख कुकुर रहेका छन्।
वरिष्ठ चिकित्सक जोशीका अनुसार, “रेबिजको लक्षण देखिएपछि उपचार सम्भव हुँदैन, त्यसैले रोकथाममै जोड दिनुपर्छ।” उहाँका अनुसार सङ्क्रमित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्नुपर्छ र जति सक्दो छिटो ‘एन्टी–रेबिज भ्याक्सिन’ लगाउनुपर्ने हुन्छ।
रेबिज लागेपछि पानी पिउन मन नलाग्ने, पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, स्मरण शक्ति हराउने र ज्वरो आउनेजस्ता लक्षण देखिने बताइन्छ। शरीरमा प्रवेश गरेको भाइरसको मात्राअनुसार कसैमा छिटो त कसैमा ढिलो लक्षण प्रकट हुने चिकित्सकको भनाइ छ।
“विकसित मुलुकमा रेबिज नियन्त्रण भइसकेको वा नियन्त्रणको चरणमा पुगेको छ,” जोशीले भन्नुभयो, “तर नेपालमा अझै यो रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ।” उहाँका अनुसार सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके रेबिज नियन्त्रण सम्भव हुन्छ। विश्व रेबिज दिवस–२०२५ का अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप दिने अभियान सञ्चालन गरेको छ।

