हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ, १० असोज – गृह मन्त्रालयले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँसहित मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, हराएका हातहतियार वा खरखजाना फेला परेमा यही असोज मसान्तभित्र नजिकैको सुरक्षा निकायमा बुझाउन अनुरोध गरिएको छ ।
सो अवधिभित्र बुझाउने वा जानकारी दिने व्यक्तिलाई मन्त्रालयले उचित सम्मान गर्ने जनाएको छ । तर म्यादपछि ती सामग्री कसैसँग फेला परेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यसैबीच, सो घटनाबाट भएको भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ ।
गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगलाई भौतिक र मानवीय क्षतिसम्बन्धी सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा आवश्यक राय दिने कार्यादेश दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता काफ्लेले आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा सरकारका नियमित संयन्त्रमार्फत तत्काल कारबाही नहुने तर गैरकानुनी गतिविधिमा भने कानुनअनुसार कारबाही हुने जानकारी दिनुभयो ।

