बाजुरामा बाढीको कहरः ११ घर बगाए, सात घरमा क्षति, १७ घर जोखिममा

बाजुरा, २९ साउन

बुधबार राति आएको बाढीले हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ। गाउँपालिकाका १, ३ र ५ नम्बर वडामा बढी असर पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। बाढीले सात घरमा क्षति पुर्‍याएको र १७ घर उच्च जोखिममा रहेको छ।

बाढीले स्थानीय नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुर्‍याएको छ।

सोही गाउँपालिका–५ मा नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदारासहितका घर बगेका छन्। बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घरसमेत बगाएको प्रहरी निरीक्षक चौधरीले बताए।

बाढीले १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसहितका सरकारी तथा सार्वजनिक संरचना पनि प्रभावित छन्।

गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोलीले तीन वटै वडामा क्षति मूल्यांकन गरिरहेको छ। प्रभावितको राहत तथा पुनःस्थापनाबारे निर्णय गर्न कार्यपालिका बैठक बस्ने अध्यक्ष मल्लले बताएका छन्।

Facebook Comments Box