दिक्तेलबजारमा दसैँको चहलपहल, दैनिक लाखौँको कारोबार
खोटाङ, १० असोज – दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बिहानैदेखि राति अबेरसम्म उपभोग्य सामग्री किनमेल गर्ने भीड बढेसँगै बजार फस्टाएको छ ।
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यका अनुसार चाडपर्व नजिकिएसँगै दिक्तेलबजारमा दैनिक रु ५० देखि रु ६० लाखसम्मको कारोबार भइरहेको छ । “व्यापारीलाई तोकिएको मूल्यमा सामान बिक्री गर्न र सकेसम्म ग्राहकलाई छुट दिन आग्रह गरेका छौँ । पछिल्ला दिनमा ग्राहकको चाप बढेसँगै कारोबार पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ,” आचार्यले बताउनुभयो ।
जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट आपूर्ति गर्दा मूल्यमा वृद्धि भएको व्यापारीहरूले बताएका छन् । खानेतेलको भाउ पनि केही बढेको भए पनि अन्य उपभोग्य वस्तु सुपथ मूल्यमै बिक्री भइरहेको वाणिज्य सङ्घले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष व्यापार व्यवसायमा सुधार आएको र ग्रामीण भेगबाट समेत उपभोक्ता आउन थालेपछि कारोबार बढेको व्यापारीहरूको भनाइ छ ।
उपभोक्ताले दसैँ नजिकिँदै गर्दा बजारमा आपूर्ति सहज भएको र वस्तुको विविधता बढेको अनुभव गरेका छन् । तर, केहीले अन्डा र तेलजस्ता सामानको भाउ चर्केको गुनासोसमेत गरेका छन् । चाडपर्वका बेला बजार व्यवस्थापन, मूल्य नियन्त्रण र उपभोक्ता सुरक्षामा अझै ध्यान दिनुपर्ने सरोकारवाला निकायले जनाएको छ । ग्रामीण भेगका पसलमा म्याद गुज्रेका अखाद्य सामग्री बिक्री हुने गरेको पाइएकोले त्यसतर्फ सतर्कता आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार चाडपर्वका अवसरमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न अनुगमन तथा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित हाटबजार र पसलको अनुगमन गरिरहेका छन् ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दिक्तेलबजार, ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकामा सस्तो मूल्यमा चामल बिक्री सुरु गरेको हो ।
शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यका अनुसार सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । दिक्तेलबजारमा कम्पनीकै कार्यालय र गोदाम, ऐसेलुखर्क र खोटेहाङमा डिपोमार्फत उपभोक्तालाई सुविधा दिने व्यवस्था गरिएको छ ।

