सिरहाको नर्गी दलित बस्ती अझै शौचालयविहीन

सिरहा, १० असोज – सिरहाको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित दलित बस्ती अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय नभएको तथ्य उजागर भएको हो ।

शौचालयको सुविधा नहुँदा स्थानीयवासी आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा गएर शौच गर्न बाध्य छन् । खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चारवटा दलित टोलमा शौचालय नहुनु केवल संरचनाको अभाव मात्र नभई स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर समस्या बनेको छ ।

स्थानीयका अनुसार आर्थिक अभाव, जग्गा नहुनु र जनचेतनाको कमी यसका प्रमुख कारण हुन् । ऐलानी जमिनमा बसोबास गर्दै आएका दलित परिवारलाई शौचालय निर्माण गर्न ठाउँसमेत अभाव भएको छ । बस्तीका वयोवृद्ध र महिलाले पनि आर्थिक अवस्था कमजोर भएकाले शौचालय बनाउन सकिएको छैन भन्दै असन्तोष व्यक्त गरेका छन् ।

शौचालय मात्र नभई खानेपानीको समस्या पनि गम्भीर रहेको पाइएको छ । खडौरियामा पाँचवटा हातेपम्पमार्फत २३ घरले पानी जोहो गरिरहेका छन् भने लबटोलीमा एउटा मात्र हातेपम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो ।

अस्पतालटोल र थानटोलका बासिन्दा अझै टाढाटाढाबाट पानी ओसार्न बाध्य छन् । क्लबका अध्यक्ष उमेश विसुङ्केले शौचालय प्रयोगका लागि पर्याप्त पानीको आवश्यकता हुने भएकाले खानेपानी समस्याको दिगो समाधानलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीमा सार्वजनिक जमिन नहुँदा सामुदायिक शौचालय निर्माण कठिन रहेको बताउनुभयो । उहाँका अनुसार समस्या समाधानका लागि गाउँपालिकाले छलफल गरिरहेको छ र छिट्टै उपाय खोजिनेछ ।

सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा समेत सिरहाको यो दलित बस्ती शौचालयविहीन रहनु गम्भीर प्रश्न बनेको छ । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवले यस्तो अवस्था लज्जास्पद भएको उल्लेख गर्दै यस समस्यालाई प्राथमिकतामा राखेर दिगो समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

शौचालयको अभावले बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर परेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणजन्य रोग र विषालु जीवजन्तुको डरले स्थानीयको दैनिकी झनै कष्टकर बनेको छ । सरोकारवाला निकायले यसतर्फ त्वरित ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।

Facebook Comments Box