व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न महासङ्घको आग्रह

काठमाडौँ, १० असोज – नेपाल उद्योग वाणिज्य महासङ्घले व्यावसायिक र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति तथा कानुनमन्त्री अनिलकुमार सिन्हासँग उद्योग मन्त्रालयमा भएको भेटमा महासङ्घको टोलीले यस्तो माग राखेको हो ।

युवा पुस्ताको आन्दोलनका क्रममा उद्योग, प्रतिष्ठान, कार्यालय र निजी निवासमासहित ठूला मात्रामा तोडफोड र आगजनी भएकाले उद्योगी व्यवसायीको मनोबल उच्च राख्न यस प्रकारको सुनिश्चितता जरुरी रहेको महासङ्घले जनाएको छ । सो अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा यस्ता आक्रमण दोहोरिन नदिन, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र निजी क्षेत्रको सुरक्षामा सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हालसम्मको तोडफोड र क्षतिबाट मुलुकभर करिब ८० अर्ब रुपैयाँबराबरको नोक्सानी भएको जानकारी दिनुभयो । “देशको समृद्धिका लागि अन्योल अन्त्य भई सुशासन कायम गर्नुपर्नेछ । निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिँदै आएको छ, त्यसैले निर्वाध रुपमा काम गर्न पाउने सुनिश्चितता अपरिहार्य छ,” अध्यक्ष ढकालले भन्नुभयो ।

जवाफमा मन्त्री सिन्हाले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सहयोगी भावलाई सकारात्मक रुपमा लिँदै सरकार आमनागरिक र व्यवसायीको सुरक्षाप्रति गम्भीर रहेको स्पष्ट पार्नुभयो । उहाँले उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्रमाथि प्रहार हुने परम्परा अन्त्य गर्नुपर्ने र यसप्रति दृष्टिकोण परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले पुनर्निर्माणका लागि स्वदेशी वस्तुको अधिकतम उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Facebook Comments Box