बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

काभ्रेपलाञ्चोक, २५ असोज — गत साताको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। विभिन्न स्थानमा अस्थायी सडक निर्माण र १९ ठाउँमा ‘डाइभर्सन’ तयार भएपछि राजमार्ग पुनः खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

शुक्रबार साँझसम्म सबै क्षतिग्रस्त खण्डमा ‘ट्रयाक’ खोलेर परीक्षण गरिएको थियो। त्यसपछि आज बिहानदेखि सवारीसाधन चल्न थालेका हुन्। रातभर निरन्तर काम गरेपछि राजमार्ग सञ्चालन गर्न सम्भव भएको कार्यालयका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए।

उनका अनुसार काभ्रेको चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्मका स्थानहरूमा डाइभर्सन निर्माण गरिएको छ। चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्ती गरी १९ स्थानमा डाइभर्सन तयार गरिएको हो।

बाढीले रोशी खोलाको आसपास करिब चार किलोमिटर सडक कटान गरेको थियो। मङ्गलबारदेखि थालिएको अस्थायी सडक निर्माणमा करिब दुई दर्जन मेसिन परिचालन गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार स्थल निरीक्षण गरी रातदिन काम गरेर राजमार्ग खुलाउने निर्देशन दिएका थिए।

पूर्वी नेपाललाई राजधानीसँग छोटो दूरीमा जोड्ने बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने गर्छन्। कार्यालयका अनुसार क्षतिग्रस्त भागको स्थायी पुनर्निर्माण चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको छ।

Facebook Comments Box