सरकारको पुनर्निर्माण कोषमा फर्निचर व्यवसायीको सहयोग
बागलुङ, १० असोज – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले रु एक लाख एक हजार १११ सहयोग गरेका छन् । सृष्टि फर्निचर उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम सरकारको पुनर्निर्माण कोषमा उपलब्ध गराएका हुन् ।
गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत पुनर्निर्माणमा योगदान दिन पाएकोमा सन्तोष व्यक्त गर्नुभयो । “देश कठिनाइमा छ, भौतिक क्षति ठूलो छ, सबैले आ–आफ्नो स्थानबाट सहयोग गरे छिटो पुनर्निर्माण हुन्छ र यसले आर्थिक वृद्धि तथा उद्योग व्यवसायलाई पनि सघाउँछ,” गौतमले बताउनुभयो ।
उहाँले आफ्नो उद्योगमार्फत हाल ४२ जना युवालाई रोजगारी प्रदान गरेको जानकारी दिनुभयो । १५औँ वार्षिकोत्सवको अवसरमा गौतमले पाँच करोड रुपैयाँको लगानीमा नयाँ फर्निचर शोरुम पनि स्थापना गर्नुभएको छ । उहाँले फर्निचर र हार्डवेयरलगायतका व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।
चेक ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले सो रकम पुनर्निर्माण कोषको खातामा जम्मा गरिने बताउनुभयो । सरकारले सिंहदरबारसहित क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ‘भौतिक संरचना पुनर्निर्माण कोष’ स्थापना गरेको छ ।

