पितृपक्ष आज समापन हुँदै

काठमाडौँ, ५ असोज । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्न दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदानसँगै समापन हुँदैछ। १५ दिनसम्म चल्ने यस पक्षलाई ‘सोह्रश्राद्ध’ पनि भनिन्छ। आज आमावास्या (औँसी) तिथिमा श्राद्ध गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुनै कारणवश अन्य तिथिमा गर्न नसकिएको श्राद्ध आज अनिवार्य गर्नुपर्छ।

अझै सम्भव नभए आपत्कालीन धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने शास्त्रीय व्यवस्था छ। धर्मशास्त्रविद्हरूका अनुसार पितृपक्षमा दिवङ्गत आत्माहरू पिण्ड र पानीको आशमा मर्त्यलोकमा आइपुग्ने विश्वास छ। यस अवसरमा श्राद्ध नगरे पितृ असन्तुष्ट भई सन्तानलाई श्राप दिन सक्ने उल्लेख हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुजस्ता धर्मग्रन्थमा गरिएको छ।

श्राद्ध गरेर पितृलाई तृप्ति दिलाउने मात्र होइन, सन्तानले पितृऋणबाट मुक्त हुने विश्वास छ। यस अवधिमा नान्दीमुखी श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, तीर्थश्राद्ध, ब्रह्मकपाली श्राद्धजस्ता परम्परागत विधिहरू प्रचलनमा छन्। आजको अवसरमा गोकर्णेश्वर (उत्तरगया), बेत्रावती, देवघाट, त्रिवेणीलगायतका तीर्थस्थलमा श्राद्ध गर्नेको ठूलो भीड लागेको छ। पितृपक्षको समाप्तिसँगै असोज ६ गते घटस्थापनादेखि दुर्गापक्ष अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु हुनेछ।

Facebook Comments Box