नेपाल एयरलाइन्सको काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान असोज ९ गतेदेखि
काठमाडौँ, ५ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा आगामी असोज ९ गतेदेखि सिधा उडान सुरु गर्ने भएको छ। पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवाको थालनी गर्न लागिएको हो।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार ग्वाञ्जाओ उडानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ र अनुमति पनि प्राप्त भएको छ। निगमले पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते र त्यसपछि असोज ३०, कात्तिक २ तथा ६ गते गर्ने तालिका बनाएको छ। त्यसपश्चात हरेक आइतबार, मङ्गलबार र शनिबार नियमित उडान हुनेछ।
निगमले काठमाडौँ–ग्वाञ्जाओ उडानको एकतर्फी भाडा रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकेको छ। अध्यक्ष अधिकारीले लामो प्रयासपछि चीनको महत्त्वपूर्ण सहरमा सेवा विस्तार गर्न सफल भएको बताए। उनले निकट भविष्यमै दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
हाल ग्वाञ्जाओ गन्तव्यमा चीनको चाइना साउदर्न र नेपालकै हिमालय एयरलाइन्सले नियमित उडान गर्दै आएका छन्। नेपाली समुदायको बाहुल्यता रहेको यस गन्तव्यमा नेपाल एयरलाइन्सको प्रवेशले आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।ग्वाञ्जाओ उडानसँगै नेपाल एयरलाइन्सले अब नौ देशका ११ अन्तरराष्ट्रिय गन्तव्यमा सेवा दिनेछ।
निगमका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत हाल दोहा (कतार), क्वालालम्पुर (मलेसिया), दुबई (संयुक्त अरब इमिरेट्स), हङकङ, दिल्ली, मुम्बई र बैङ्गलुरु (भारत), बैङ्कक (थाइल्याण्ड), दमाम (साउदी अरब) र नारिता (जापान) मा नियमित उडान हुँदै आएको छ। राष्ट्रिय ध्वजावाहकको अन्तरराष्ट्रिय उडानले देशको शान, पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको निगमको भनाइ छ।

