कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ पुल सम्पन्न

बागलुङ, २ असोज – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा हालसम्म ८० प्रतिशत भौतिक काम सकिएको छ । करिडोर सुरु भएको १६ वर्षपछि २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र भइसकेको छ भने ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् । अझै छ वटा पुल अन्तिम चरणमा रहेका छन् ।

गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना बागलुङ, गुल्मी, पाल्पा, नवलपुर, स्याङ्जा र पर्वत जिल्लामा फैलिएको छ । पाल्पा शाखा कार्यालयका तथ्याङ्कअनुसार यस खण्डमा ८० प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुदेखि हालसम्म सडक खोल्ने, स्तरोन्नति गर्ने, चौडाइ बढाउने, कालोपत्र गर्ने र पुल निर्माणका लागि करिब रु. १४ अर्ब ७ करोड खर्च भएको छ ।

आर्थिक वर्ष २०६६/६७ मा प्रारम्भ भएको यस आयोजनालाई २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको हो । कुल रु. २० अर्ब लागत अनुमान गरिएकोमा हालसम्म ७० प्रतिशत अर्थात् करिब रु. १४ अर्ब खर्च भइसकेको छ । इन्जिनियर उत्सव बस्यालका अनुसार १४५ किमी सडक निर्माण सकी सडक डिभिजनलाई हस्तान्तरण गरिसकिएको छ ।

यद्यपि, अझै करिब ०.४२ किमी सडक र १७ पुल बन्न बाँकी छ । करिडोरअन्तर्गत नवलपुरमा ७७.९७ किमी, पाल्पामा ८६.२७ किमी, गुल्मीमा ४१.०६ किमी, बागलुङमा ३४.७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी सडक पर्दछ ।

Facebook Comments Box