तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै पुल भत्काएर पुनः बनाउन निर्देशन

दोलखा, २६ फागुन – नुवाकोटको बेलकोटगढी नगरपालिका-३ कुमरीबाट धादिङको धुनीबेंशी नगरपालिका-४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।

तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सडक कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो।

वि.सं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुनरजयबाबारकाष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए। उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ।

गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनर्निर्माण गर्न’ उल्लेख गरिएको छ। भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ।

‘गतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाण भन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ’, उनले भने, ‘ढलान गरिएको स्पानको डोरी तन्काउँदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो।’

यसअघि मौखिक र पत्रमार्फत् दिएको निर्देशनको अटेर गरेर निरन्तर पुल बनाएसँगै अहिले कुमरी–जीवनपुर सवारी साधन सञ्चालन गर्न सकिने अवस्थामा पुर्‍याइएको छ।

तोकिएको सम्झौताभन्दा विपरीत जोखिम संरचनाको पुल बनाएर सञ्चालनमा ल्याएसँगै यसबाट दुर्घटना हुनेसक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ।

‘दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुन्छौं’ डिभिजन प्रमुख रिमालले भने।

पुल निर्माणका लागि छ वर्ष अघि आठ करोड १४ लाख रुपैयाँको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले छ करोड २३ लाख रुपैयाँमा बनाउने जिम्मेवारी पाएको थियो।

Facebook Comments Box