पुनःनिर्माणमा सक्रिय युवा
झापा, २ असोज – ‘जेनजी’ आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी संरचनाको पुनःनिर्माणमा स्थानीय युवाहरू जुटेका छन् । मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा स्थानीय युवा उद्योगी आनन्द खड्काले आफ्नै खर्चमा पुनःस्थापना गरेका छन् । प्लाइउड उद्योग सञ्चालन गर्दै आएका खड्काले करिब रु. ३ लाख ५० हजार खर्च गरी कार्यालय पुनःनिर्माणसँगै चारवटा सिसी क्यामेरा जडान गरेका हुन् ।
“देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला राज्यलाई सहयोग गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो भन्ने भावनाले यो काम गरेको हुँ,” खड्काले बताए, “शान्तिसुरक्षा मजबुत बनाउन मुख्य चोकमा सिसी क्यामेरा अत्यावश्यक हुन्छ भन्ने सोचेर सबै व्यवस्था मिलाइदिएको हुँ ।”
उनका अनुसार आन्दोलनमा जलाइएका मेचीनगर–१५ को ज्यामिरगढी प्रहरी चौकी र मेचीनगर–७ को ट्राफिक प्रहरी पोस्ट पनि छिट्टै पुनःनिर्माण गर्ने योजना छ । यस्तै, कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित ट्राफिक प्रहरी पोस्ट स्थानीय टेकबहादुर बस्नेतसहितका युवाले निजी खर्चमा पुनःनिर्माण गरेका छन् ।
“प्रहरी पोस्ट नष्ट भएपछि उनीहरू विस्थापित हुनुपर्दा दुःख लाग्यो । त्यसैले, अघिल्लो अवस्था जस्तै बनाउन हामीले मिलेर पुनःनिर्माण गरेका छौँ,” बस्नेतले बताए, “अब प्रहरी फेरि लक्ष्मीपुरमै आएर सेवा दिनुहोस् भन्ने हाम्रो आग्रह छ ।” स्थानीय अन्य क्षेत्रमा पनि युवाहरूले शान्तिसुरक्षाको वातावरण कायम गर्न प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

