‘अपर’ राहुघाट जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु
म्याग्दी, ३१ भदौ – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४८.५ मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ।
तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण र उपकरण जडानको काम पूरा भएपछि शुक्रबारदेखि परीक्षण उत्पादन थालिएको हो।
आयोजना आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाका अनुसार नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण सुरु गरिएको हो।
“आन्तरिक परीक्षण सफल भएपछि उत्पादन थालिएको हो,” तिमिल्सिनाले बताए, “कुनै समस्या नदेखिएकाले १५ दिनभित्र व्यावसायिक उत्पादन सुरु गर्ने तयारी भइरहेको छ।”
यो आयोजना रघुगङ्गा–७ चिमखोलामा रहेको बाँध र वडा नं ४ दग्नामको फेदीमा रहेको विद्युत्गृहमार्फत सञ्चालित छ। यसमा ४,९०० मिटर लामो सुरुङ र ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिएको छ।
आयोजनाको इलेक्ट्रोमेकानिकल काम एभरेष्ट हाइड्रोले, हाइड्रोमेकानिकल काम माछापुच्छ्रे मेटल एण्ड मेसिनरीले र सिभिल काम रामेछाप शेर्पा कन्स्ट्रक्सनले गरेका हुन्। सुरुङ निर्माण साउथ एशियन इन्फ्रास्ट्रक्चरले गरेको हो। निर्माण कार्य विसं २०७७ देखि सुरु भएको हो।
यसअघि तुँदी पावरले निर्माण गरेको ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले असारदेखि र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजनाले भदौदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेका छन्।
यी आयोजनाबाट उत्पादित विद्युत् रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट स्विचयार्डमार्फत अस्थायी रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
प्रसारणका लागि बन्दीदेखि चिमखोलासम्म ८ कि.मि. १३२ केभी लाइन र चिमखोलादेखि तिल्केनीसम्म २२० केभी लाइन निर्माण गरिएको छ। यी प्रसारण लाइनहरू ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट आयोजना संयुक्त लगानीमा बनेका हुन्।दुवै आयोजना मिलाएर करिब १३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

