दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने

काठमाडौं, ११ फागुन – दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

दक्षिण कोरियामा रहेको नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको खण्डमा सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार नेपाललाई रोक लगाइएको हो ।

नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो ।

Facebook Comments Box