परदेशी नेपालीले पठाए रु १ खर्ब ७७ अर्ब भन्दा बढी विप्रेषण

काठमाडौँ, ३१ भदौ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा (साउन) विदेशमा कार्यरत नेपालीहरूले रु १ खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम नेपाल भित्र्याएका छन्।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण वृद्धि दर १७.७ प्रतिशत मात्र थियो र पठाइएको रकम रु १ खर्ब ३६ अर्ब ६० करोडमा सीमित थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेर १ अर्ब २७ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा यस्तो आप्रवाह १५.८ प्रतिशतले मात्र बढेको थियो। यस्तै, खुद द्वितीय आय (Net Transfer Income) रु १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु १ खर्ब ४८ अर्ब ८ करोड भन्दा धेरै हो।

वैदेशिक रोजगारीतर्फ हेर्दा, साउन महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) प्राप्त गर्ने नेपालीको सङ्ख्या ४४ हजार ४६६ पुगेको छ भने २३ हजार ६४४ जनाले पुनःश्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा नयाँ श्रम स्वीकृति ३६ हजार ९२८ र पुनःश्रम स्वीकृति २२ हजार ६४७ मात्र थियो।

Facebook Comments Box