झुम्का कारागारबाट भागेका ७०५ कैदीबन्दी पक्राउ
सुनसरी, ३१ भदौ – सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा ७०५ जना पुनः पक्राउ परेका छन्। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न अराजक अवस्थाका कारण कारागारबाट १,५७२ जना कैदीबन्दी भागेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सनाका अनुसार भदौ २४ गते राति करिब १०० बढी संख्यामा आएका प्रदर्शनकारीले कारागार परिसरमा प्रवेश गरी क्षति पुर्याउन थालेपछि कैदीहरू एकैसाथ भागेका हुन्।
कारागारभित्र रहेका कैदीबन्दीहरूले आगो लगाउने धम्की दिएको र बाहिरबाट युवाहरूको दबाब बढेको अवस्थामा थप क्षति रोक्न प्रवेशद्वारमा सुरक्षा खुकुलो बनाइएकाले ठूलो संख्यामा कैदी भाग्न सफल भएको प्रहरीले जनाएको छ।
झुम्का कारागारका दुई ब्लकमध्ये २२७ कैदीबाहेक १,५७२ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये भारतीयसहितका ६५ जना विदेशी कैदी पनि रहेका थिए र सबै विदेशी कैदी भागेका उपरीक्षक तिम्सनाले बताए। प्रहरीका अनुसार सोमबार रातिसम्ममा ७०५ कैदीलाई पुनः नियन्त्रणमा लिइएको छ भने बाँकी फरार कैदीहरूको खोजी कार्य जारी छ।

