चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
चितवन, ३० भदौ — चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिस (जेइ) का कारण पाँच जनाको ज्यान गएको छ। हालसम्म १६ जना संक्रमित भेटिएका जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार पछिल्लो पटक भदौ २३ गते राप्ती नगरपालिकाकी ४२ वर्षीया महिलाको मृत्यु भएको हो।
यसअघि साउनयता मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय पुरुष, कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष, राप्ती नगरपालिका–१२ की ७० वर्षीया महिला र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया महिला रहेका थिए।
गत आर्थिक वर्षमा चितवनमा तीन जना संक्रमित भेटिएका थिए, जसमा एक जनाको मृत्यु भएको थियो। रुपाखेतीका अनुसार यस वर्ष जेइका संक्रमितहरू भरतपुर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिकामा भेटिएका छन्।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे मुख्यतः घरबाहिर बस्ने र साँझ तथा बिहान बढी सक्रिय हुने भएकाले संक्रमणको जोखिम उच्च रहने उनको भनाइ छ।
उनले धानबाली भएको क्षेत्रमा लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गर्ने भएकाले जोखिम अझ बढी हुने बताए। साथै, यो रोग सुँगुर, बङ्गुर, हाँसजस्ता जनावरलाई पनि असर पार्ने भएकाले जनस्वास्थ्य सतर्कता आवश्यक रहेको उनको सुझाव छ।

