बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

बागलुङ, ३० भदौ – भीषण बाढीका कारण मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको निसीखोला गाउँपालिका–४, कालापैराखोलामा आइतबार राति आएको बाढीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प भएको वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

अवरुद्ध सडक अझैसम्म खोल्न नसकिएको र यसले रुकुम पूर्व, रोल्पा हुँदै काठमाडौँ–पोखरा जाने सवारी साधन कालापैरामा रोकिएका वडाध्यक्ष पौडेलले बताए।

उनका अनुसार लगातारको वर्षाले सडकका विभिन्न स्थानमा पहिरो र रूख ढल्दा आवागमन थप कठिन भएको छ। “वर्षा रोकिएलगत्तै माथिबाट लेदो खस्ने र सडकमा थुप्रिँदा सवारी सञ्चालन गर्न नसकिने अवस्था छ,” उनले भने। सडक खुलाउन स्थानीय निकाय र सरोकारवालाको सहकार्यमा प्रयास भइरहेको जनाइएको छ।

Facebook Comments Box