आगजनीबाट जोगिएका सामग्री प्रयोग गरी नयाँ कार्यकक्ष निर्माण

काठमाडौँ, २८ भदौ — सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ कार्यकक्ष निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

प्रधानमन्त्रीको नयाँ कार्यकक्ष सिंहदरबारकै पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा तयार भइरहेको छ। आज बिहानदेखि नै पुरानो कार्यालयबाट आगजनी र तोडफोडबाट जोगिएका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायतका सामग्री सारेर नयाँ भवनमा सार्ने काम जारी छ।

आगजनी भएको पाँचौँ दिनसम्म पनि सिंहदरबारको पश्चिम भागमा आगो पूर्णरूपमा निभिसकेको छैन। मन्त्रालय परिसरमा जलेका सवारीसाधन र कागजपत्र अझै छरपस्ट छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदा भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा ठूलो संख्यामा कर्मचारी स्वयंसेवक झैँ जुटेर सरसफाइ र फोहर व्यवस्थापनमा लागेका छन्। मन्त्रालय परिसरमा जलेका सवारीसाधन अझै ‘मानव कङ्काल’ जस्तै अवस्थामा देखिन्छन्।

मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाका अनुसार बिहान ८ बजेदेखि नै कर्मचारी स्वयं जुटेर सफाइ अभियान सुरु गरिएको हो।
“पहिले सरसफाइ गर्छौँ, त्यसपछि मर्मतसम्भारमा लाग्छौँ,” सापकोटाले बताए, “कर्मचारीबाट गर्न सकिने सबै काम छिट्टै सम्पन्न गर्ने प्रयास भइरहेको छ।”

उहाँका अनुसार क्षतिको पूर्ण लगत निकाल्नका लागि छुट्टै टोली खटाइएको छ। पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर र टेलिभिजन सेट सबैमा क्षति पुगेको छ।

सापकोटाले संरचनागत क्षति नभएका स्थानलाई प्राथमिकतामा राखेर छिट्टै सञ्चालनमा ल्याउने योजना बनाइएको बताए। उहाँको विश्वास छ — शिक्षा मन्त्रालयको पहलले अन्य प्रभावित मन्त्रालय र कार्यालयहरूलाई पनि छिटो पुनः सञ्चालनमा ल्याउन प्रेरणा दिनेछ।

Facebook Comments Box