महोत्तरीमा सयौँ सालका रुख ढालिए, अनुसन्धान सुरु

महोत्तरी, २८ भदौ – जेनजी प्रदर्शनको अवसर पारेर महोत्तरीका वन क्षेत्रमा सयौँ साल (सखुवा)का रुख अवैध रूपमा ढालिएका छन्।

डिभिजन वन कार्यालय महोत्तरीका अनुसार बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका करिब २२५ वटा सालका रुख ढालिएका छन्। यी रुख टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छन्।

वन कार्यालयका प्रमुख अजय मिश्रका अनुसार मङ्गलबारदेखि बिहीबार रातिसम्म रुख काटिएको अनुमान गरिएको छ। “जेनजी आन्दोलनका कारण सर्वसाधारण र वन कर्मचारीको आउजाउ कम भएको मौका पारेर रुख ढालिएको हो,” उनले बताए। “यो जघन्य अपराधमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ।”

प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना सडक विस्तारसँग सम्बन्धित हुनसक्ने वन कार्यालयको अनुमान छ। मिश्रले भने, “सबै रुख सडक छेउमै काटिएका छन्। तस्करीका लागि काटिएको भए वनभित्र भित्रिन्थे। यसबारे स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग छलफल भइरहेको छ।”

ढालिएका रुखहरू शुक्रबार सर्वसाधारण र वन कर्मचारीले देखेपछि घटना सार्वजनिक भएको हो। अहिले डिभिजन वन कार्यालयले सूक्ष्म अनुसन्धान सुरु गरेको छ र दोषी पहिचान गरी कारबाही गर्ने तयारीमा छ।

टुटेश्वर साझेदारी वन ९९८.९८ हेक्टरमा फैलिएको छ र यसबाट करिब ३० हजार उपभोक्ता लाभान्वित छन्। यहाँका करिब ४२ प्रतिशत रुख सालका छन्।

महोत्तरीमा हाल २२ हजार २२४६ हेक्टर वन क्षेत्र छ, जसमा साझेदारी, सामुदायिक, धार्मिक, कवुलियती, राष्ट्रिय र सागरनाथ वन विकास परियोजना अन्तर्गतका प्लटहरू छन्। वन अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा सडक विस्तार, बिजुलीको लाइन विस्तार, पूर्वपश्चिम रेल र अतिक्रमणका कारण वन क्षेत्र निरन्तर सङ्कटमा छ।

९० वर्षीय सामाजिक अगुवा धनबहादुर स्याङ्वाले विसं २०३६ को जनमतसङ्ग्रहताका बेलादेखि हरेक राजनीतिक आन्दोलनको रापतापमा वन फडानी हुँदै आएको स्मरण गरे। वन कार्यालयका अधिकारीहरूले समेत पाँच हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको स्वीकार गरेका छन्।

Facebook Comments Box