सगरमाथामा फोहर सङ्कलनका लागि ड्रोन प्रविधिको प्रयोग

काठमाडौँ, १८ भदौ – विश्वकै सर्वोच्च शिखर सगरमाथामा बढ्दो फोहर समस्यालाई समाधान गर्न पहिलो पटक ड्रोन प्रविधिको प्रयोग सुरु गरिएको छ। पर्यटन, धार्मिक र आर्थिक दृष्टिले नेपालका लागि महत्वपूर्ण सगरमाथामा पछिल्ला वर्षमा आरोही र पर्यटकको चापसँगै फोहर बढ्दै गएपछि वातावरणीय सन्तुलनमा गम्भीर चुनौती थपिएको हो।

विद्युतीय सवारी साधन बिवाइडीका नेपालका आधिकारिक वितरक साइमक्स इङ्क र नेपाली ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजी को सहकार्यमा फोहर ढुवानीमा ड्रोन प्रयोग गरिएको हो। साइमक्सका अनुसार एक हजार केजी फोहर सङ्कलन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको छ।

यो अभियान बिवाइडीले विश्वव्यापी रूपमा चलाएको “कूल द अर्थ वाइ वान डिग्री” अभियानअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको हो। साइमक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार सगरमाथा राष्ट्रिय गौरव भएकाले यसको संरक्षणका लागि प्रविधि प्रयोग गरिएको हो। “हामी दिगो विकास र स्वच्छ वातावरणको पक्षमा सधैँ क्रियाशील छौँ,” उहाँले भन्नुभयो।

एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार प्रयोग भएका ड्रोनहरू १५ मिटर/सेकेन्ड गतिमा उड्नसक्ने र –१५ डिग्री सेल्सियससम्मको तापक्रममा सञ्चालनयोग्य छन्। अघिल्ला वर्षमा माथिल्लो क्याम्पबाट आधारशिविरसम्म फोहर ल्याउन ६–७ घण्टा लाग्ने गरेकामा अहिले १–२ मिनेटमै सम्भव भएको उहाँले बताउनुभयो।

गत वर्ष मात्र एयरलिफ्टले क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर झिकेको थियो। यस याममा सगरमाथाबाट २८६ केजी फोहर सङ्कलन भइसकेको छ भने थप सङ्कलन जारी छ। भविष्यमा अमादब्लम र मनास्लु हिमालसँगै अन्य हिमाली क्षेत्रमा पनि अभियान विस्तार गर्ने योजना छ।

नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाका अनुसार आरोहीहरूले फोहर छाड्ने प्रवृत्तिका कारण समस्या गम्भीर बन्दै गएको छ। उहाँले फोहर व्यवस्थापनका लागि आरोहीसँग धरौटी मात्र नभई थप शुल्क लिनुपर्ने सुझाव दिनुभयो। सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा भइरहेको यो अभियानले जलवायु परिवर्तनविरुद्धको लडाइँमा प्रविधिको प्रभावकारी योगदान गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box