प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किँदै

काठमाडौँ, १८ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा गत भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन प्रस्थान गर्नुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै शिखर सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको थियो। सो अवसरमा उहाँले विभिन्न सहभागी विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेट गर्नुभएको थियो

भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार (Dialogue Partner) रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको यस संगठनमा हाल चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन्।

अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदारका रूपमा रहेका छन्।

प्रधानमन्त्री ओलीसँग यस भ्रमणमा धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो।

Facebook Comments Box