स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा, गठबन्धन फुट्न सक्ने प्रचण्डको संकेत
काठमाडौं, ५ वैशाख – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा मिलाउन सत्ता गठबन्धनलाई सकस परेको छ।
पटक–पटक शीर्ष नेताहरुको छलफलमा सहमति जुट्न नसकेपछि निर्वाचन तयारी तथा अनुगमन संयन्त्रमा पनि यसबारे छलफल जारी छ। आजै बिहान पनि यही विषय टुंगोमा पुग्नेगरी सत्ता गठबन्धनको बैठक बसेको थियो।
यद्यपि, कुनै निष्कर्ष नसुनाइ नेताहरु तितरबितर भएका छन्। सत्ता गठबन्धनको बैठक सकिनेबित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगेर पत्रकार सम्मेलन गरेका छन्।
पूर्वनिर्धारित भएपनि सत्ता गठबन्धनभित्र खटपट देखिएको बेलामा राखिएको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा समेत हेरिएको थियो। प्रचण्डको संकेत–गठबन्धन फुट्न सक्छ
माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको आन्तरिक ‘किचलो’ लाई टेवा पुग्नेगरी पेरिस डाँडाबाट केही सन्देश छाडेका छन्। सँगसँगै उनले गठबन्धन फुट्न सक्ने समेत संकेत गरेका छन्।
‘हामी निर्वाचनमा गठबन्धनबाटै जान्छौं। गठबन्धन भित्रैबाट भनेको चाँही ५ वटैको सहमति नहुन पनि सक्छ,’ गठबन्धन फुट्न सक्ने संकेत गर्दै प्रचण्डले भनेका छन्।
बालुवाटारमा बसेको बैठकमा भागवण्डा नमिल्दा स्थगित गरेर पत्रकार सम्मेलनमा पुगेका प्रचण्डको यो भनाई अहिलेको ५ दलीय गठबन्धन फुट्न सक्ने संकेतका रुपमा बुझिएको छ। ‘जहाँ जसको सहमति हुन्छ त्यो गठबन्धन भित्रबाटै गरेर निर्वाचनमा जाने हुन्छ,’ उनले पत्रकार सम्मेलनमा भने।
सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकाको विषय पेचिलो बन्दै गएको छ। तपाईंहरु एक्लै चुनाव भिड्न तयार हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भनेका छन, ‘हो, यदि
गठबन्धनभित्र सबैबीच सहमति भएन भने जस–जसबीच सहमति हुन्छ, मिलेर अगाडि जान्छौं। त्यो स्थितिमा जित्ने सम्भावना माओवादी केन्द्रकै देख्छु मैले।’

