जलवाष्पयुक्त हावाको प्रभाव : मुलुकभर मनसुन आंशिक सक्रिय

काठमाडौँ, १३ भदौ – बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै नेपालमा मनसुन केही सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । महाशाखाले आज दिउँसो मुलुकभर आकाश बदली हुने र सबै प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना प्रक्षेपण गरेको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भने भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि आंशिकदेखि सामान्य बदली रहने र कोशी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ ।

वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालामा पानीको सतह बढ्ने सम्भावना रहेको भन्दै महाशाखाले यातायात तथा अन्य क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिंदै सबैलाई सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ ।

Facebook Comments Box