भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको ज्यान गयो

काठमाडौँ, १ असार — भारतको उत्तराखण्ड राज्यस्थित रुद्रप्रयाग क्षेत्रमा आज भएको एक हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। केदारनाथ मन्दिरको दर्शन गरी फर्किंदै गरेका यात्रुहरू चढेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटसहित एक बच्चा र अन्य यात्रुहरूको ज्यान गएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्कर ले जनाएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित गरिएको जानकारी दिएका छन्। प्रारम्भिक रिपोर्टअनुसार केदारनाथ मन्दिरबाट गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटना भएको हो।

मौसम प्रतिकूल भएकाले दुर्घटना भएको आशंका गरिएको छ। दुर्घटनामा परेको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको भएको पुष्टि गरिएको छ। उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार  हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरू सवार थिए।

Facebook Comments Box