एकै महिनामा १ अर्ब ५० करोडभन्दा बढी पेट्रोलियम पदार्थ आयात

झापा, ११ भदौ

चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा भन्सार नाकाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात तीन दशमलव ६० प्रतिशतले बढेको हो । सो अवधिमा आयात मूल्यमा पाँच करोड २२ लाख रुपैयाँको वृद्धि भएको छ ।

आयातमा सामान्य वृद्धि भए पनि पेट्रोलियम पदार्थबाट उठेको राजस्व भने ११ दशमलव ८० प्रतिशतले बढेको छ । यस अवधिमा मात्र रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व संकलन भएको हुमागाईँले जानकारी दिनुभयो । कार्यालयका तथ्याङ्कअनुसार आयात भएको पेट्रोलियम पदार्थमध्ये पेट्रोल सबैभन्दा बढी आयात गरिएको छ । पहिलो महिनामा रु ७७ करोड तीन लाख बराबरको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात गरिएको छ ।

यस्तै, रु ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल, रु २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ (विमान इन्धन) र रु एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

Facebook Comments Box