आज विश्व ताल दिवस
काठमाडौँ, ११ भदौ
पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यसहित आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो । गत वर्ष महासभामा प्रस्तुत प्रस्ताव पारित भएपछि राष्ट्रसङ्घका सदस्य मुलुकहरूले संयुक्त रूपमा यसलाई मनाउने सहमति जनाएका हुन् ।
यो दिवसमार्फत राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरणीय अभियन्ता तथा शैक्षिक समुदायलाई तालको महत्वबारे सचेतना फैलाउने र संरक्षणलाई प्राथमिकता दिने उद्देश्य रहेको बताइन्छ ।संयुक्त राष्ट्रसङ्घका तथ्याङ्कअनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको करिब चार प्रतिशत भूभाग ओगटेका छन् ।
तर प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय क्षति बढ्दै गएको र ताजा पानीका स्रोतहरूमा तीव्र गिरावट आएको छ । मानवका लागि पेयजल आपूर्ति, कृषि तथा उद्योग उत्पादनमा योगदान पु–याउँदै आएका तालहरूले जैविक विविधता कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
लाखौँ प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुहरू तालमा निर्भर छन् । तर, बढ्दो विश्व तापक्रमका कारण धेरै ताल सुक्दै गएका र बरफ पग्लने दर बढिरहेको सन्दर्भमा तालतलैया संरक्षणलाई अझै महत्वपूर्ण मानिएको छ ।

