दोलखामा मोटरसाइकल ठोक्किँदा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

दोलखा, ११ भदौ

लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका छन् । शिरिस गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत हुनुहुन्थ्यो भने श्याम जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दुर्घटना बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल चढेर काठमाडौंबाट चरिकोटतर्फ जाँदै गर्दा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग गएराति ९ बजेदेखि १० बजेको बीचमा ठोक्किएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि छोरोल्पा अस्पताल चरिकोट पठाइए पनि केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

Facebook Comments Box