सिरहा–उदयपुर जोड्ने नयाँ अन्तरप्रदेशीय सडक मार्ग खोलिने

सिरहा, ११ भदौ

सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्म झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण हुने उक्त सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक चरणका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।

आयोजनाका इञ्जिनियर उदयनारायण चौधरीका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ। चालु आवमै करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

नयाँ सडकमार्ग गोलबजारको पुरानो चोहर्वा बजार हुँदै घुर्मी पार गरेर उदयपुरको रिस्कुसम्म पुग्नेछ। हाल रिस्कुवासीलाई मर्चैया वा कदमहा बजार हुँदै लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा नयाँ सडकले दुरी छोट्याउने, आवागमन सहज बनाउने र स्थानीय व्यवसायमा गति ल्याउने अपेक्षा गरिएको छ।

गोलबजारका व्यापारी सञ्जय यादवले यो सडकले पहाड–तराईबीचको ढुवानीलाई सहज बनाउने बताउँदै, “उदयपुरको उत्पादन गोलबजार ल्याउन र तराईको उपज पहाड पठाउन सजिलो हुने भएकाले कृषि र व्यापार दुवैलाई लाभ पुग्छ,” भने।

आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य मनोजकुमार सिंह, नगरप्रमुख श्यामकुमार श्रेष्ठलगायतको सहभागितामा समन्वय संरचना बनेको छ। पूर्वमन्त्री श्रेष्ठले एक महिनाभित्र सडक ट्रेस निर्धारण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिँदै समयमै काम सम्पन्न गर्न विशेष जोड दिनुभयो।

चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोका अनुसार यो अन्तरप्रदेशीय सडकमार्गले दुर्गम क्षेत्रलाई सहरी पूर्वाधारसँग जोडेर व्यापार, कृषि, पर्यटन र सेवा सुविधामा दीर्घकालीन प्रभाव पार्नेछ।

Facebook Comments Box