वीरगञ्जमा हैजा फैलिँदै, ८० प्रतिशतभन्दा बढी नमुनामा हैजा पुष्टि
काठमाडौँ, १० भदौ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका नमुनामध्ये १० मध्ये ८ मा हैजा पुष्टि भएको छ । बाँकी २ नमुनाको रिपोर्ट भोलि आउनेछ ।
प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार विभिन्न अस्पतालबाट संकलित नमुनामा परीक्षण गर्दा ८० प्रतिशतभन्दा बढीमा संक्रमण देखिनुले समुदायस्तरमै हैजा फैलिएको संकेत मिलेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म ३९१ जना हैजा र झाडापखलाका बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १७१ जना डिस्चार्ज भइसकेका छन् भने अझै २२० जना उपचाररत छन् ।
सबैभन्दा बढी बिरामी नारायणी अस्पतालमा १०६ जना, तराई अस्पतालमा ३३ र नेसनल मेडिकल कलेजमा ३१ जना छन् । अहिले २४ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् ।
स्वास्थ्य विज्ञका अनुसार हैजाको प्रमुख लक्षण पातलो सेतो चौलानीजस्तो दिसा, बान्ता, शरीरमा पानीको कमी, अत्यधिक थकाइ आदि हुन् । उपचार ढिलो भए मृत्यु जोखिम रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
विशेषज्ञहरूले हैजा नियन्त्रणका लागि पानी उमालेर मात्र पिउनु, काँचो तरकारी/सलाद राम्ररी धुने, साबुनपानीले हात धुने, दिसा–पिसाब शौचालयमा मात्रै गर्ने जस्ता सावधानी अपनाउन सुझाएका छन् ।

