उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म खातामा रकम जाने
काठमाडौँ, ११ भदौ
सरकारले उखु किसानलाई अनुदान रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा बिहीबारसम्म भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्ले यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ मात्र अनुदान दिने निर्णय गरेको हो। यसअघि किसानले प्रतिक्विन्टल रु ७० पाउँदै आएका थिए। प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा किसानले काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए।
यसैबीच, आन्दोलनरत किसान र कृषि मन्त्रालयबीच सिंहदरवारमा वार्ता भएको छ। मन्त्रालयतर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए। किसानतर्फ श्यामबाबु रायलगायत प्रतिनिधिहरू सहभागी थिए।

