खाँदबारीमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध
सङ्खुवासभा, १० भदौ – खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिराका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी वितरण ठप्प भएको छ । खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालका अनुसार गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएकोमा भदौ ५ गते ठूलो पहिरोले इन्टेक पुरिँदा आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको हो ।
तत्कालै इन्टेक सफा गरिएको भए पनि ठूलो मात्रामा जम्मा भएको हिलो र फोहर हटाउन नसकिँदा आपूर्ति सुरु हुन सकेको छैन । उक्त आयोजनाबाट करिब एक हजार जना लाभान्वित हुँदै आएका छन् । खाँदबारी बजारमा दैनिक करिब १० लाख लिटर खानेपानी खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीय बासिन्दा पुराना कुवा र धारामा निर्भर भएका छन् । संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको खोजी भइरहेको जनाएको छ ।

