तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति पौडेल
काठमाडौँ, १० भदौ
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वलाई भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउनुभएको छ । हरितालिका (तीज) पर्व–२०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपतिका अनुसार तीजमा नेपाली नारीले आफ्नो अटल सौभाग्य र समृद्धिका लागि भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ । यो पर्व परापूर्वकालदेखि प्रचलित रीतिरिवाज, रहनसहन, सामाजिक सहिष्णुता र ऐक्यबद्धताको प्रतिबिम्ब हो ।
“महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत अन्यायको अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर जगाउने अपेक्षा लिएको छु,” राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।
उहाँले शान्ति र प्रेरणाका रूपमा नारी जातिलाई प्रकृति र सृष्टिले उच्च स्थानमा राखेको उल्लेख गर्दै आदर्शमय, सदाचारयुक्त जीवनशैली र कला–संस्कृतिको जगेर्नाका लागि मौलिक पर्वको गरिमालाई सम्मानजनक ढंगले जोगाइ राख्न सबैलाई आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले हरितालिका (तीज) पर्व, २०८२ ले महिला सम्मानजनक सहभागिता अझ सशक्त बनाउनका साथै सामाजिक, सांस्कृतिक र पारिवारिक एकता र सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याओस् भन्ने शुभकामना प्रकट गर्नुभयो ।

