दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कनको तयारी सुरु

काठमाडौँ, ९ भदौ

नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि आज अर्थ मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तयारीलाई व्यवस्थित र परिणाममुखी बनाउन निर्देशन दिएको छ।

बैठकमा सहभागी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले पछिल्लो एक वर्षमा गरेका उपलब्धि र प्रगतिलाई अन्तर्राष्ट्रिय जगत्‌मा विश्वसनीय ढङ्गले प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले “सन्देश नेपालले स्थायित्व र आर्थिक सुधारतर्फ महत्त्वपूर्ण अग्रगमन गरिरहेको छ भन्ने जाने गरी तयारी गर्नुपर्छ” भन्नुभयो।

बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी सुधार, सुशासन, राजनीतिक स्थायित्व, सडक, पर्यटन र जलविद्युत्‌जस्ता क्षेत्रमा हासिल भएका उपलब्धिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने निर्णय गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत अधिकारीहरूको सहभागिता थियो।

यस अवसरमा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले हालसम्मको तयारीबारे जानकारी दिनुभएको थियो।

नेपालको सार्वभौम साख मूल्याङ्कन अमेरिकी अन्तर्राष्ट्रिय संस्था फिच रेटिङ्सले गर्ने गर्दछ। सोही सन्दर्भमा फिचको टोली निकट भविष्यमा नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको छ। गत वर्ष फिचले गरेको मूल्याङ्कनमा नेपालले ‘बिबी माइनस’ रेटिङ पाएको थियो।

Facebook Comments Box