वीरगञ्जमा हैजाका बिरामी पुष्टि, सतर्कता अपनाउन आह्वान
पर्सा, ७ भदौ
वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । शुक्रबार रातिदेखि नै वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पतालको टोली प्रभावित क्षेत्रमा परिचालित भएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहका अनुसार मुर्ली टोलका ३० भन्दा बढी स्थानीय एकैपटक झाडापखालाको कारण तराई अस्पतालमा भर्ना भएका थिए ।
परीक्षणका क्रममा १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक किशोरको अवस्था गम्भीर रहेको जनाइएको छ । महानगर स्वास्थ्य शाखाले घर–घरमा पुगेर जनचेतना अभियान सुरु गरेको छ भने पिउने पानीको नमूना थप परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार करिब १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखिएको हो । महानगर प्रमुख सिंहले हैजा गम्भीर सङ्क्रामक रोग भएकाले पिउने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र सेवन गर्न र कुनै पनि लापर्वाही नगर्न आग्रह गर्नुभएको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले आकस्मिक विभागमा झाडापखालाका बिरामीहरूको उपचार भइरहेको जनाउँदै सम्भावित हैजाबाट सचेत रहन स्थानीयलाई अनुरोध गर्नुभएको छ ।

