भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन
काठमाडौँ, ७ भदौ
काठमाडौँको गोकर्णेश्वरमा आज भाद्रकृष्ण औँसीका अवसरमा बिहानैदेखि हजारौँ भक्तजनले पितृप्रति श्रद्धा प्रकट गर्दै तर्पण, सिदादान र पिण्डदान गरेका छन्। वैदिक सनातन परम्परा अनुसार भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध गर्दा २१ पुस्ताअघिका पितृसम्म तर्न सक्ने धार्मिक विश्वास रहेको छ। यही विश्वासका कारण हिन्दू धर्मावलम्बीसँगै बौद्ध समुदायका श्रद्धालु पनि बिहानैदेखि यहाँको मन्दिर क्षेत्रमा पुगेका हुन्।
भीड बढेपछि सुन्दरीजल–जोरपाटी र वाग्मती कोरिडोरमार्ग भएर सवारीसाधन आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। भक्तजनको सहजताका लागि यातायात व्यवस्थापन, स्वयंसेवक, स्वास्थ्य सेवा र खोजतलास टोली परिचालन गरिएको गोकर्णेश्वर मेला समितिका संयोजक जयराम महतले जानकारी दिनुभयो।
मन्दिरका पूजारी जगदीश भट्टका अनुसार सत्ययुगमै ब्रह्माले स्थापना गरेको यस तीर्थस्थलमा तर्पण र पिण्डदान गर्दा अगति परेका पितृ पनि मुक्त हुने धार्मिक मान्यता छ।तर भक्तजनले मन्दिर क्षेत्रमा व्यवस्थापन अभाव रहेको गुनासो गरेका छन्। डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकीले साँघुरो बाटोका कारण गाडी चल्न नसक्दा हिँडेरै मन्दिर पुग्नुपरेको बताए। धेरै भक्तजनले तीन तहका सरकारले यस पवित्र स्थलको उचित व्यवस्थापनमा ध्यान नदिएको आरोप लगाए।
बौद्ध धर्मावलम्बी पनि आजको दिन गोकर्ण पुगेका छन्। बौद्धगुरु डुण्डुप लामाका अनुसार दिवङ्गत पिताको वार्षिक श्राद्धका लागि बौद्धमार्गी यहाँ आएर पूजाआजा र भोज गर्ने परम्परा रहिआएको छ। उनीहरूका विश्वासअनुसार यस दिन गोकर्णेश्वरमा दर्शन गर्दा दिवङ्गत पिताको स्वरूप देख्न पाइन्छ।
आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको विशेष पूजा हुने भएकाले पशुपतिनाथ गएका भक्तजनले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्ने परम्परा रहेको छ। यस्तै, आज कुशे औँसी पनि भएकाले घरमा धार्मिक कार्यका लागि प्रयोग हुने कुश भित्र्याई श्रद्धापूर्वक पूजिने परम्परा छ। कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। साथै, बाबुको मुख हेर्ने पर्वका रूपमा पनि आजकै दिन देशभर मनाइँदैछ।

