सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय

काठमाडौं, १ चैत्र – २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय सरकारले गरेको छ। त्यसका लागि आगमी वैशाखभित्रै विद्यालयहरुले परीक्षा र भर्ना अभियान सकिसक्नुपर्ने छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्नेछ। वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नु पर्नेछ भने नयाँ भर्ना अभियान पनि वैशाखमै सक्नुपर्ने छ।

कोरोना संक्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको छ। अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमै हुने छ। ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस चाहिँ नगर्न भनेका छौँ,’ उनले भने।

कोरोना संक्रमणअघि वैशाख १ गते नारा जुलुस नै गरेर सरकारले नयाँ भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो।

Facebook Comments Box