गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, ६ भदौ
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आज राति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेको छ। यस कारण दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका केही भागमा मध्यम वर्षा हुने पूर्वानुमान छ।
साथै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनीका तराई र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। विशेष गरी गण्डकी र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
भारी वर्षासँगै पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला तथा साना नदीनालामा पानीको सतह बढ्न सक्ने तथा यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

