सीजेपीको वेबसाइट बन्द गरिएको अभिजीत दीपकेको दाबी, ‘कक्रोच कहिल्यै मर्दैनन्’
काठमाडौं, ९ जेठ – कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके ले पार्टीको वेबसाइट सरकारले बन्द गरिदिएको दाबी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै दीपकेले सरकारमाथि तानाशाही शैली अपनाएको आरोप लगाएका हुन्। उनले लेखेका छन्, “सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको छ।”
दीपकेका अनुसार सीजेपीको वेबसाइटमा १० लाख कक्रोच सदस्य आबद्ध भएका थिए भने ६ लाख कक्रोचले धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको निवेदनमा हस्ताक्षर गरेका थिए।
उनले सरकार कक्रोचसँग डराएको टिप्पणी गर्दै लेखेका छन्, “सरकार कक्रोचसँग यति धेरै किन डराएको छ? तर यो तानाशाही रवैयाले भारतका युवाहरूको आँखा खोलिरहेको छ। हाम्रो यति मात्रै अपराध हो कि हामी आफ्नो लागि राम्रो भविष्यको माग गरिरहेका थियौँ।”
उनले आन्दोलनलाई सहजै रोक्न नसकिने दाबी गर्दै अगाडि लेखेका छन्, “हामी अहिले एउटा नयाँ घर बनाइरहेका छौँ। कक्रोच कहिल्यै मर्दैनन्।” यसअघि पनि दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको तथा एक्स अकाउन्ट ब्लक गरिएको बताएका थिए।

