शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा
कञ्चनपुर, ६ भदौ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुसँगै चराचुरुङ्गीको महत्वपूर्ण बासस्थानका रूपमा पनि परिचित बन्दै गएको छ । निकुञ्जमा हालसम्म ४६५ प्रजातिका चरा अभिलेख गरिएको छ, जस मध्ये १९ प्रजाति विश्वमै दुर्लभ मानिन्छन् ।
नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौराका अनुसार तीमध्ये सबैभन्दा सङ्कटापन्न अवस्थामा खरमजुर रहेको छ । शुक्लाफाँटाको पहिचानसँगै जोडिएको यो चराको सङ्ख्या निकै कम छ भने सुनौलो तोप चरा त निकुञ्जमा मात्र पाइन्छ ।
निकुञ्जमा डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्धसहित गिद्धका आठ प्रजाति पाइन्छन् । यिनमध्ये अधिकांश प्रजाति अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को रातो सूचीमा छन् । हिउँदमा बसाइँ सारेर आउने सेतो कण्ठे धिप्सी, टाउके हाँस, सारसलगायतका जलपन्छी पनि निकुञ्जका आकर्षण हुन् । पछिल्लो सर्वेक्षणअनुसार निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा करिब ५,८८२ जलपन्छी अभिलेख गरिएको थियो ।
३ सय ५ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जको ७१ प्रतिशत भाग वनले ढाकेको छ, जसमा सालको वन बढी छ । घाँसेमैदान, सिमसार र वन नै चराको मुख्य बासस्थान भए पनि डढेलो, अतिक्रमण, खेतीपाती, संरचनात्मक विकास तथा वृक्षरोपणका कारण बासस्थान सङ्कुचित हुँदै गएको विज्ञहरूको भनाइ छ ।
निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लाका अनुसार चोरी–सिकार रोक्न १४ वटा निकुञ्ज पोष्ट र नेपाली सेनाका १९ पोष्ट स्थापना गरिएको छ । साथै, स्थानीयलाई चरा संरक्षणबारे सचेतना फैलाउन तालिम र गोष्ठी संचालन हुँदै आएको छ ।
शुक्लाफाँटा केवल दुर्लभ चराको बासस्थान मात्र नभई पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, बाह्रसिङ्गा, नीलगाई, घडियाल गोही र चितुवा जस्ता वन्यजन्तुले भरिपूर्ण रहेको कारण अनुसन्धानकर्ता र पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

