एउटै खोलामा आधा दर्जन जलविद्युत् आयोजना
बागलुङ, ५ भदौ
बागलुङको ताराखोला गाउँपालिका अहिले जलविद्युत्को ‘हब’ का रूपमा विकसित हुँदै गएको छ । ठाडो ढल्केको भौगोलिक संरचना भएका ताराखोलामा हालसम्म दुईवटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने थप दुई आयोजना निर्माणाधीन र दुई प्रक्रिया अघि बढाइएका छन् ।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । यो निजी क्षेत्रको पहिलो ठूलाे आयोजना भए पनि यसअघि समुदायले स–साना लघु जलविद्युत् योजना सञ्चालनमा ल्याएका थिए ।
यसपछि ताराखोलामा पाँचवटा आयोजना थपिने क्रममा छन् । तिनमध्ये ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना पाँच वर्षअघि नै सम्पन्न भई राष्ट्रिय ग्रिडमा जोडिएको हो । हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना तीव्र गतिमा निर्माण भइरहेकाे छ ।
यस्तै, चार मेगावाट क्षमताको दरम ‘ए’ आयोजना पनि अगाडि बढेको छ । यस आयोजनाको करिब ४० प्रतिशत पूर्वाधार निर्माण पूरा भएको सञ्चालक मिलन खतिवडाले जानकारी दिनुभयो । साथै, तीन दशमलव पाँच मेगावाट क्षमताको तल्लो ताराखोला आयोजना र चार दशमलव पाँच मेगावाट क्षमताको मध्यदरम ‘बी’ आयोजना प्रक्रिया अगाडि बढाइएको छ ।
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले आयोजनामा स्थानीयको समेत उल्लेख्य लगानी रहेको भन्दै यसले क्षेत्रको आर्थिक विकासलाई तीव्र गति दिने बताउनुभयो । “मध्यताराखोला र मध्यदरम ‘ए’ आयोजनाले द्रुत प्रगति गरेको छ भने अन्य आयोजनाको कामसमेत विस्तारै अगाडि बढिरहेको छ,” उहाँले भन्नुभयो, “स्थानीयको करोडौँ लगानी भएकाले आयोजनाको प्रतिफल प्रत्यक्ष रूपमा गाउँपालिकाको अर्थतन्त्रमा देखिनेछ ।”
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि आयोजनाले गाउँकै गर्व बढाएको बताउनुभयो । उहाँका अनुसार विद्युत् उत्पादनले गाउँपालिकाको समग्र आर्थिक उन्नयनसँगै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

