‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ : आशान्त शर्मा

काठमाडौँ, ५ भदौ

रङ्गमञ्चमा कथा सुनाउँदै आएका कलाकार आशान्त शर्माले निर्देशन र अभिनयसमेत गरेको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँबानेश्वरस्थित चलचित्र भवनमा भएको प्रिमियर कार्यक्रममा चलचित्रकर्मी तथा कलाकर्मीहरूको उपस्थिति रहेको थियो ।

रङ्गमञ्चमा नाटक ‘साथी, साथी आइदेऊ न’ प्रस्तुत गरेका शर्माले सोही कथालाई यसपटक ठूलो पर्दामा ल्याएका हुन् । नाटकलाई देशभर देखाउन कठिन भएकाले र युट्युबमा मात्र राख्दा मर्म हराउने चिन्ताले चलचित्र बनाउनुपरेको उहाँको भनाइ छ । “नाटक धेरैलाई देखाउनुपर्छ भन्ने सोच थियो, तर समय र साधनको अभावले सम्भव भएन । त्यसैले चलचित्रमार्फत् कथा धेरैसम्म पुगोस् भन्ने चाहनाले यो प्रयास गरेको हुँ,” शर्माले बताउनुभयो ।

चलचित्रमा शर्माले पहिलोपटक मुख्य भूमिकासमेत निर्वाह गर्नुभएको छ । आफूले सिर्जना गरेको पात्रलाई अन्यले न्यायपूर्वक प्रस्तुत गर्लान् वा नगर्लान् भन्ने चिन्ताले निर्देशक र अभिनेता दुवै बन्नुपरेको उहाँको भनाइ छ ।
“प्रसिद्ध कलाकारलाई पनि अभिनयको प्रस्ताव गरेको थिएँ, तर उनीहरूको लोकप्रियताले कथा ओझेलमा पर्छ कि भन्ने डर लाग्यो । त्यसैले म आफैँ निर्देशन र अभिनयमा आएँ,” उहाँले स्पष्ट पार्नुभयो ।

‘ताराहरू’ किशोर मनोविज्ञान र मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । आत्महत्याको बाटो रोजेकी किशोरी र एक अर्धबैँसे पुरुषबीचको मित्रताबाट कथा अघि बढ्छ । जीवनप्रतिको निराशाबाट आशा र सपनातर्फको यात्रालाई चलचित्रले मुख्य विषय बनाएको छ ।

चलचित्रले व्यावसायिक प्रचारप्रसार पाउन नसके पनि दर्शकले कथाको मर्म र सन्देश बुझेर आत्मीय प्रचार गर्ने विश्वास शर्माले व्यक्त गर्नुभयो । “हामी रङ्गमञ्चका कलाकारले इमान्दारीपूर्वक सिर्जना गर्न सक्छौँ, तर बजार प्रतिस्पर्धा गर्न सक्दैनौँ । हाम्रो कथा र विषयवस्तुले नै प्रतिस्पर्धा गर्नेछ,” उहाँले भन्नुभयो ।

चलचित्रमा आशान्त शर्मासँगै कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारले अभिनय गरेका छन् ।

Facebook Comments Box