पहाडमा बढ्दो डेङ्गी जोखिम, बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
बैतडी, ५ भदौ
बैतडीमा डेङ्गी सङ्क्रमणका घटनाहरू बढ्न थालेका छन् । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म जिल्लाका सात जनामा डेङ्गी पुष्टि भइसकेको छ । संक्रमितमध्ये दशरथचन्द नगरपालिकाका तीन, पुचौडी नगरपालिकाका दुई र मेलौली तथा पाटन नगरपालिकाका एक–एक जना रहेका छन् । सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालयले “लार्भा खोज र नष्ट गर” अभियान सुरू गरेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोकथाममा ध्यान दिन अभियान सदरमुकाम र पाटन बजार क्षेत्रमा सञ्चालन गरिएको हो । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीय बासिन्दाको सहभागिता रहेको छ ।
यसैबीच, स्थानीय तहहरूले पनि डेङ्गी नियन्त्रणका लागि आ–आफ्नै अभियान थालेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तका अनुसार तीन महिनासम्म निरन्तर चल्ने यो अभियानमा विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयहरूलाई समेत सक्रिय सहभागी बन्न आह्वान गरिएको छ ।

